प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारबाटै संविधान उलंघन हुने गरी विधेयकहरू पेश हुने गरेको बताएका छन्।

बुधबार प्रतिनिधिसभामा खानेपानी विधेयकमाथिको छलफलमा थापाले संविधानको धारा ४७ अनुसार तीन वर्षभित्र विधेयक पारित गरिसक्नुपर्नेमा ढिला गरी विधेयक पेश भएको बताए।

‘म अन्य माननीयहरूले भनेजस्तो मन्त्रीजीलाई धन्यबाद भन्न सक्दिनँ,’ थापाले भने, ‘किनकी संविधानको धारा ४७ मा यो विधेयक तीन वर्ष भित्रमा पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। यो एउटा विधेयक मात्रै यत्रो महिनापछि ल्याउने विशेष अधिकार कसरी प्राप्त भयो?’

ढिला गरी विधेयक ल्याएर सरकारले संविधानको उलंघन गरेको थापाको भनाइ छ। ‘यो विधेयक अहिले आएर आफ्नो सुविधा र आवश्यकता अनुसार ल्याउन पाइन्छ?,’ थापाले प्रश्न गरे, ‘यो संविधानको उलंघन हो कि होइन? प्रक्रिया र समयमा आपत्ति छ, जवाफ चाहियो।’

साथै सरकारले संविधानको उलंघन सजिलैसँग गर्न पाउँछ भने अरूले गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न थापाले उठाएका छन्। ‘प्रश्न मन्त्रीजीप्रति मात्र होइन सभामुखप्रति पनि आग्रह छ, यो विषय पटकपटक उठाएको छु,’ उनले भने, ‘खानेपानीको विधेयक ढिलो आउँदा के फरक पर्छ भन्दा पनि संविधानको पालना भए छ कि छैन त्यो महत्वपूर्ण हो।’

सांसदहरूले उठाएका प्रश्नमा खानेपानीमन्त्री विना मगरले ‘विधेयकमाथि धन्यबाद दिने र दिन नसक्ने माननीयलाई धन्यबाद दिन चाहन्छु’ भन्ने जवाफ दिएकी थिइन्।

तपाईको प्रतिक्रिया